सोलुखुम्बु, असार १६।
महिलाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ओखलढुंगाकाे चिसंखुगढी गाउँपालिका–७ मा तीनदिने आधारभूत उद्घोषण तालिम सुरु भएको छ।

वडा नं. ७ को आयोजनामा सञ्चालन भएको तालिमको उद्घाटन वडा अध्यक्ष मुगाधन राईले वडा कार्यालयको सभाहलमा एक कार्यक्रमका बीच गर्नुभयो।
तालिममा वडाभित्रका २५ जना महिलाहरूको सहभागिता रहेको छ। सहभागीहरूलाई उद्घोषण कला, सार्वजनिक बोलाइ, आत्मविश्वास अभिवृद्धि तथा कार्यक्रम सञ्चालनका आधारभूत सीपहरूबारे प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ।
तालिमको सहजीकरण तथा प्रशिक्षण नेपाल पत्रकार महासंघ सोलुखुम्बु शाखाका सहसचिव डिल्ली शर्माले गरिरहनुभएको छ।
तीन दिनसम्म सञ्चालन हुने तालिमबाट सहभागी महिलाहरूको नेतृत्व क्षमता, प्रभावकारी सञ्चार सीप तथा सार्वजनिक कार्यक्रममा आत्मविश्वासका साथ उद्घोषण गर्न सक्ने क्षमता विकास हुने अपेक्षा गरिएको छ।






