नेपालका प्रमुख धार्मिक तीर्थस्थलमध्ये एक हलेसी महादेव हिन्दु, बौद्ध तथा किराँत धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्रका रूपमा परिचित छ। प्राकृतिक गुफाभित्र अवस्थित यस तीर्थस्थललाई पूर्वी नेपालको पशुपतिनाथका रूपमा समेत चिनिन्छ। हलेसीसँग सम्बन्धित विभिन्न धार्मिक किंवदन्ती र जनविश्वासमध्ये नेचासल्यानस्थित यज्ञकुण्डको कथा विशेष महत्व राख्छ।
स्थानीय धार्मिक परम्पराअनुसार भगवान् महादेव हलेसीमा प्रकट भएपछि देवता, ऋषिमुनि तथा साधुसन्तहरूले विशेष यज्ञ सम्पन्न गरेका थिए। उक्त यज्ञ हालको सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका अन्तर्गत सुकेपोखरी क्षेत्रको काली पोखरी जंगलमा गरिएको विश्वास गरिन्छ। त्यही यज्ञको स्मृतिस्वरूप रहेको यज्ञकुण्ड आज पनि उक्त क्षेत्रमा देख्न सकिने स्थानीयवासी बताउँछन्।
शताब्दीयौँदेखि चलिआएको जनविश्वासले हलेसी र नेचाको यज्ञकुण्डलाई एउटै धार्मिक यात्राका दुई महत्वपूर्ण कडीका रूपमा स्थापित गरेको छ। धार्मिक अनुयायीहरूका अनुसार हलेसी महादेवको दर्शन मात्रले यात्रा पूर्ण हुँदैन। हलेसी दर्शनपछि नेचास्थित यज्ञकुण्डमा पुगेर चरुहोम तथा पूजा–अर्चना सम्पन्न गरेपछि मात्रै धार्मिक अनुष्ठानले पूर्णता पाउने मान्यता रहिआएको छ।
धार्मिक महत्वका अतिरिक्त नेचासल्यानको काली पोखरी क्षेत्र प्राकृतिक सौन्दर्यले पनि भरिपूर्ण छ। घना जंगलको बीचमा रहेको यज्ञकुण्डले धार्मिक पर्यटनको सम्भावना बोकेको छ। यद्यपि यसको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वअनुसार संरक्षण, अध्ययन र प्रचारप्रसार भने पर्याप्त हुन सकेको देखिँदैन।
इतिहास, आस्था र संस्कृतिको संगमका रूपमा रहेको हलेसी महादेव र नेचाको यज्ञकुण्डबीचको सम्बन्ध केवल धार्मिक विश्वासमा सीमित छैन। यसले पूर्वी नेपालको धार्मिक सभ्यता, सांस्कृतिक निरन्तरता र लोकविश्वासलाई समेत उजागर गर्छ। त्यसैले यी सम्पदाको संरक्षण, अनुसन्धान र प्रवर्द्धन गर्नु स्थानीय समुदाय मात्र होइन, सम्पूर्ण राष्ट्रको साझा दायित्व हो।
हलेसी महादेवको महिमासँग जोडिएको नेचाको यज्ञकुण्ड आज पनि आस्थाको ज्योति बोकेर उभिएको छ, तर उचित संरक्षण र प्रचार प्रसारकाे अभावकाे कारण उक्त ऐतिहासिक यज्ञस्थल ओझेलमा परेकाे छ। नेचासल्यान गाउपालिका वार्ड नं ३मा रहेकाे उक्त यज्ञकुण्डकाे बिचमा उम्रिएकाे गुराँसकाे फूल मात्रकाे प्रयाेगले सबै मनाेकामना पुराहुने जनबिश्वास रहेकाे छ।
यज्ञकुण्डकाे उत्तरमा सुकेपाेखरि र पश्चिममा जालपादेबीकाे मन्दिर संगै महादेब गुफा रहेका छन्। भने जंगलकाे बिचमा रहेकाे पबित्र पाेखरीमा झरेका पातहरु समेत चराले टिपेर पाखा लगाउने गरेकाे स्थानीय बासिन्दाहरु बताउछन्।
यस्ताे ऐतिहासिक तथा धार्मीक महत्व बाेकेकाे स्थानकाे संरक्षण तथा सम्बर्धनकालागी स्थानीय सरकार, तथा सराेकारवालाहरुकाे ध्यान पुग्न जरुरी छ।






