सिमकोट । प्रतिनिधिसभाको एक मात्रै निर्वाच क्षेत्र रहेको हिमाली जिल्ला हुम्लामा नेपाली कांग्रेसका जयपती रोकाया निर्वाचनी हुनु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, कांग्रेसका रोकायाले ८ हजार ७ सय ९६ मत प्राप्त गरेर विजयी हुनु भएको हो । भने नेपाल कम्युनिष्ट पार्टीका प्रतिष्प्रधि डाक्टर दिपेन्द्र रोकायाले ७ हजार २ सय ४३ मत प्राप्त गर्नु भएको छ । जयपती रोकायाले डाक्टर रोकायालाई १५ सय ५४ मतले पछि पार्दै विजयी हुनु भएको छ ।
यस्तै नेकपा एमालेका दल फडेराले ४ हजार ३ सय ३१, रास्वपाका टासी ल्हाजोमले एक हजार ६४, प्रलोपाका जटिल कार्कीले २ सय ४८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का कुम्भ बुढाले एक सय २८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका छक्क बुढाले एक सय २४ मत प्राप्त गर्नु भएको छ ।

हुम्लाका ६४ मतदान केन्द्रबाट २२ हजार ४ सय ६७ मत खसेको थियो ।
को हुन् जयपति ?
लामो समयदेखि जिल्लागत राजनीतिमा सक्रिय रहँदै आएका रोकाया अन्ततः संघीय संसद्मा पुग्न सफल भएका छन् । विद्यार्थी राजनीति हुँदै पार्टी संगठन निर्माणमा लामो समय बिताएका रोकायाको विजयलाई हुम्लामा कांग्रेसको संगठनात्मक स्थायित्वको परिणामका रुपमा पनि हेरिएको छ ।
सिमकोट गाउँपालिका–५ का स्थायी बासिन्दा रोकायाले आफ्नो राजनीतिक यात्रा २०४९ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) हुम्लाको अध्यक्षबाट सुरु गरेका थिए । विद्यार्थी राजनीतिबाट नेतृत्व विकास गरेका उनी लगातार तीन कार्यकाल नेविसंघ हुम्लाको अध्यक्ष बनेका थिए ।
त्यसपछि उनले नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलमार्फत संगठन विस्तारमा सक्रिय भूमिका खेले । तरुण दल हुम्लाको अध्यक्ष भएर तीन कार्यकाल काम गरेका उनले जिल्लामा कांग्रेसको युवा संगठनलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेले । रोकाया दुईपटक जिल्ला सभापति भएर काम समेत गर्नु भएको थियोे ।






