सिमकोट । जिल्ला निर्वाचन कार्यालय हुम्लाले सबै मतदान केन्द्रका कर्मचारीलाई आवश्यक निर्वाचन सामाग्री वितरण कार्य सम्पन्न गरेको छ । जिल्लाका सातवटा स्थानीय तहमा रहेको ६४ वटा मतदान केन्द्रका मतदान अधिकृतलाई सबै प्रकारका निर्वाचन सामग्रीहरू वितरण गरिएको हो ।
फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटिएका कर्मचारीले आफ्ना मतदान केन्द्रका लागि आवश्यक पर्ने सामाग्री बुझ्नु भएको छ । जिल्ला निर्वाचन कार्यालयले मतदान हुन तीन दिन मात्र बाँकी रहँदा मतदान केन्द्रमा खटिएका चौसठ्ठी मतदान केन्द्रका कर्मचारीहरुलाई निर्वाचन सामाग्री बुझेका छन् ।


निर्वाचनमा खटिएका कर्मचारीहरुलाई शनिबार बिहानैबाट निर्वाचनका लागि आवश्यक पर्ने सामाग्री बितरण कार्य सुरु भएर ६४ मतदान केन्द्रका कर्मचारीले बुझेको जिल्ला निर्वाचन अधिकारी भिमबहादुर रोकायाले बताउनुभयो । मतदान कार्यको ४८ घण्टा अगाडी मतदान केन्द्रमा खटिएका कर्मचारी पुग्नु पर्ने कानूनी प्राब्धान छ ।
यस अनुसार फागुन १८ गते साँझसम्म सबै मतदान केन्द्रमा कर्मचारीहरु पुग्नु पर्ने हुन्छ । निर्वाचन गराउनका लागि आवश्यक पर्ने ४९ प्रकारका सामाग्रीहरु निर्वाचनमा खटिएका कर्मचारी बुझाउने कार्य भएको हो । शनिबारबाट खटिएका कर्मचारीले ती सामाग्री बुझ्न सुरु गर्नु भएको थियो ताँजाकोट गाउँपालिका– ३ को बामादेम आवि मासपुर मतदान केन्द्रका मतदान अधिकृत बिसन रोकायाले सवै भन्दा पहिले निर्वाचन सामाग्री बुझेका थिए ।
जिल्ला निर्वाचन कार्यालयबाट सामाग्री बुझेका कर्मचारीहरुले त्यस लगत्तै मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट दुवै किसिमका मतपत्रहरु बुझने कार्य भएको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले बताउनुभयो । हालसम्म ताँजकोटका सातवटै, अदानचुलीका ६ वटै, चंखेलीका ९ वटैले मतपत्र बुझिसकेका छन् । भने नाम्खाका चार मध्ये चार बाँकी, सर्केगाडको १२ मध्ये १ बाँकी, सिमकोटका ९ मतदान केन्द्रको बाँकी रहेको भने खार्पुनाथका तीनवटा मतदान केन्द्रका कर्मचारीले मतपत्र बुझ्न बाँकी रहेको जानकारी प्राप्त भएको छ । हुम्ला जिल्लामा साठी मतदानस्थल र चौसट्टी मतदान केन्द्र छन् ।







