सोलुखुम्बु । नेचासल्यान गाउँपालिका–३ र ४ मा एउटा कुकुरको अनौठो व्यवहारले स्थानीयलाई अचम्मित बनाएको छ। स्थानीयले ‘खैरे’ नामले चिन्ने उक्त कुकुर गाउँमा कसैको मृत्यु भएमा मलामी जाने र अन्तिम दाहसंस्कार नसकिएसम्म घाटमै बस्ने गरेको बताइएको छ।
स्थानीयका अनुसार खैरे विगत तीन वर्षदेखि गाउँमा मृत्यु भएका व्यक्तिको शवसँगै मलामी जाने गरेको छ। शवलाई मासखोरिया घाट, चुर्पु घाट वा दूधकोशी घाटतर्फ लैजाँदा उक्त कुकुर पनि मलामीसँगै जाने गरेको स्थानीय बताउँछन्।
अझ अचम्मको कुरा त, गाउँमा कसैको मृत्यु हुने र शव घाटतर्फ लैजाने अवस्था भएमा अघिल्लो रात नै खैरे रुने गरेको स्थानीयको दाबी छ। मृत्युको खबर पाएपछि मलामीसँगै घाट पुग्ने खैरे अन्तिम दाहसंस्कार नसकिएसम्म त्यहीँ बस्ने गरेको बताइन्छ।
अन्तिम संस्कारपछि भने खैरेले बगरको बालुवा खस्रेर आफ्नो टाउको जमिनमा राखी केही समय शोक व्यक्त गर्ने गरेको स्थानीयको भनाइ छ। कुकुरको यस्तो असामान्य व्यवहार देखेर स्थानीयहरूमा कौतुहलता बढेको छ।
कतिपय स्थानीयले खैरेमा कुनै दैवी शक्ति रहेको विश्वाससमेत गर्न थालेका छन्। यद्यपि, यसको वास्तविक कारणबारे भने कुनै वैज्ञानिक पुष्टि भएको छैन।
गाउँमा कसैको मृत्यु हुँदा मलामी जाने, अघिल्लो रात रुने र अन्तिम संस्कारपछि घाटमै शोक मनाउने खैरे कुकुर अहिले नेचासल्यानका स्थानीयका लागि एउटा अनौठो र चर्चाको विषय बनेको छ।
मृत्युको खबरसँगै रुन्छ, मलामी जान्छ र घाटमै शोक मनाउँछ ‘खैरे’ कुकुर
मृत्युको खबरसँगै रुन्छ, मलामी जान्छ र घाटमै शोक मनाउँछ ‘खैरे’ कुकुर

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



