मुस्ताङ। ऐतिहासिक र धार्मिक महत्त्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन्। शरद् यामसँगै खुल्न थालेको मौसम मुस्ताङ घुम्नका लागि उपयुक्त मानिन्छ।
उजाड खैरो र रातो रङका पहाडमा चित्रकारले कोरेर बनाएका जस्ता देखिने कलाकृति। प्राचीनकालीन मानव सभ्यताको झल्को दिने पहाडभित्र रहेका गुफाहरु। जता फर्किए पनि पृष्ठभूमिमा देखिने सेताम्मे हिमाल र नीलो आकाश। माटोका छाना भएका मौलिक घरहरुसँगै बस्ती वरिपरि देखिने हरियाली। पहाड छिचोलेर बगिरहेका कालीगण्डकी र सहायक नदीहरु । निलो रङका मनमोहक ताल।

पाखामा रमाउँदै गरेका भेटिने नाउर, बनखरायोका बथान। चरन खर्कमा भेडाच्यांग्रा, घोडा र याकका गोठ। लटरम्म पाकेर मगमग बास्न आउने स्याउ बगैंचा। बस्तीपिच्छे ऐतिहासिक दरबार र धार्मिक महत्त्वका गुम्बा तथा तिब्बती रहनसहन र जीवनशैली। हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ, कागबेनी र दामोदरकुण्ड।
लोमान्थाङका पर्यटन व्यवसायी छेवाङ रिनजिन गुरुङले बर्खायाम सकिन थालेसँगै मुस्ताङमा पर्यटकको चहलपहल बढ्न थालेको बताए।
‘बर्खा सकिन र हिउँद सुरू हुन लागेको यो मौसम हावापानी र वातावरणका हिसाबले पनि मुस्ताङ घुम्न उपयुक्त समय हो,’ उनले भने, ‘अन्य समयमाभन्दा असोज–कात्तिकमा यहाँ धेरै पर्यटकहरु आउने गर्छन्।’
सडक यातायातको सहजता, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा भएका प्रवर्द्धनात्मक गतिविधि, सामाजिक सञ्जालको प्रभाव, सुविधायुक्त होटल सञ्चालन, विश्व प्रसिद्ध पदयात्रासम्बन्धी सञ्चारमाध्यमले मुस्ताङलाई घुम्नैपर्ने गन्तव्यमा समेट्नु, विदेशी समुदायका प्रभावशाली व्यक्तिको भ्रमणले मुस्ताङ पर्यटकको रोजाइमा परेको हो।






